भारतीय नागरिकमाथि कञ्चनपुरमा गोली प्रहार, दुई घाइते ~ Online Buzzers

Post Top Ad

भारतीय नागरिकमाथि कञ्चनपुरमा गोली प्रहार, दुई घाइते

२३ भदौ, काठमाडौं । कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ । गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् ।
भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली लागेर घाइते भएका हुन् । चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको बताइएको छ ।

घाइते दुवै जनालाई राति नै उपचारका लागि भारततर्फ लगिएको छ । चौहानको अवस्था गम्भीर छ ।बिहीबार राति करिब ९ बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुलनजिकै गोली चलेको थियो । महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार उनीहरुलाइ मोटरसाईकलमै आएको समूहले गोली प्रहार गरेको हो ।
प्रहरीले गोली चलाउने दुईजना नेपालीलाई भाग्दै गरेको अवस्थामा घटनास्थल नजिकैबाट पक्राउ गरेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) शरद चन्दले जानकारी दिए । उनले कञ्चनपुर भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारीलाई १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको बताए । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखिएको छ ।
गोली चलेको खबर पाउनासाथ पुगेको कञ्चनपुर प्रहरीको टोलीले तत्काल छापा मारेर गोली प्रहार गर्ने दुवैजना पक्राउ गर्न सफल भएको हो । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान थालिएको प्रहरी प्रमुख डिआईजी चन्दले बताए ।
२०७४ भदौ २३ गते ९:०१ मा प्रकाशित

Post bottom Ad