कञ्चनपुरमा फेरि विद्यार्थीको हत्या, प्रअ सहित पाँच जना प्रहरी नियन्त्रणमा ~ Online Buzzers

Post Top Ad

कञ्चनपुरमा फेरि विद्यार्थीको हत्या, प्रअ सहित पाँच जना प्रहरी नियन्त्रणमा

कञ्चनपुरमा विद्यार्थी नेता सुरक्षाकर्मीको हत्या भएको घटना सेलाउन नपाउँदै फेरि एक विद्यार्थीको हत्या भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्या भएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली मावि कक्षा ८ मा अध्ययनरत १३ वर्षीय बालक चन्द जयराती मृत अवस्थामा फेला परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले हल्दुखाल निवासी चन्द गाउँकै खोला किनारको झाँडीमा मृत अवस्थामा फेला परेको बताए ।
उनका अनुसार तीन दिनदेखि विद्यालय गएका बालक बुधबार मृत अवस्थामा फेला परेका छन् । खेतमा घाँस काट्न गएका महिलाले गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गन्ध आएको क्षेत्रमा चेकचाँच गर्दा चन्दको शव कुहिएको अवस्थामा फेला परेको हो ।
सोही घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्यालयका प्रअ सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रअ शेरसिंह महरा, आशिष अधिकारी, विशाल चन्द, रमेश खड्का, प्रकाश थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
घटनालाई लिएर आफन्त र स्थानीयले शव समेत परिक्षण गर्न दिएका छैनन् । घटनाको मुख्य दोषी आशिष अधिकारी भन्दै स्थानीय र आफन्तलेको उनको घर घेराउ गरेका छन् । आक्रोशित भिडले आशिषको गोठमा आगो लगाइदिएका छन् भने भान्छाघर उखेलिदिएका छन् । आशिषका अभिभावकको समेत घटनामा संलग्न रहेको भन्दै स्थानीयले घटना लुकाउन खोजिएको आरोप लगाए । तिलकलाई मारेर आशिषले घरको सेप्टिट्याङकीमा लुकाएर राखेको र पछि मात्रै घर नजिकैको झाँडीमा फालिदिएको पीडितको भनाई छ । पीडित लगायत आफन्तले अधिकारीको घर घेरा हालेर दोषिलाई कारबाही नहुन्जेल लाश नउठाउने चेतावनी दिएका छन् ।
विद्यालय गएका छात्र विद्यालय समय भित्रै हराएर हत्या भएको भन्दै स्थानीयले घटनाका सबै दोषिलाई कानुनी कारबाहीको माग गरेका छन् । विद्यालयको लापरबाहीका कारण घटना घटेको स्थानीयको आरोप छ । दुवै कानमा सुनका बाली लगाएका तिलकको सुन समेत छैन् ।
सुनकै कारण हत्या हो, या के कारणले हत्या गरेको हो ? भन्ने बारेमा प्रहरीले अनुसन्धानबाटै खुल्ने बताएको छ । पीडित परिवार शोकाकुल भएका छन्, भने हप्तैपिच्छेका घटनाले स्थानीय चिन्तित बन्दै गएका छन् । स्थानीय प्रशासनले घटना स्थल र अधिकारीको घरमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।

Post bottom Ad